असोज १३, २०८१
‘वडा नं. १० ले शनिबार बिहान ४ सय जनालाई खानाको व्यवस्था गरेको थियो ।
बेलुका ५ सय जनाका लागि व्यवस्था गर्यो’, वडाध्यक्ष रामकुमार के. सी.ले भने, ‘अहिले ५ सय जनालाई खानाको प्रबन्ध गरेका छौँ ।’
के. सी. का अनुसार आज अवस्था सामान्य भइसकेकोले बेलुकाबाट खाना उपलब्ध गराउने कार्यक्रम रोकिनेछ ।
बागमती नदीले वडा १० का शंखमुल, वुद्धनगर, दोभानलगायत क्षेत्रमा बढी प्रभाव पारेको छ ।
बागमती र विष्णुमतीको दोभान रहेको वडा नं. १२ र १४ हो ।
यसको बढी प्रभाव वडा नं. १४ को बल्खु क्षेत्रमा पर्छ ।
वडा नं. १४ का अध्यक्ष सुमन श्रेष्ठका अनुसार बल्खुसँगै कुलेश्वर क्षेत्र, फलफुल बजार, खाद्यान्न स्टोर क्षेत्र र करखुशी नदी क्षेत्रमा सबैभन्दा बढी प्रभाव पर्यो ।
वडाले शनिबार वाढी प्रभावित १२५ जनालाई कम्बल वितरण गर्यो । ४ सय जनाका लागि दिउँसो पुरी, तरकारी र बेलुका खानाको व्यवस्था गरियो ।
विद्यालयमा बस्नका लागि १६ वटा कोठामा कालो म्याट बिछ्याइएको छ ।
वडा नंं ११ का सदस्य सरोज मुल्मीका अनुसार वंशीघाटका प्रभावितहरुका लागि पसलबाट खाद्यान्न उपलब्ध गराएर क्याटरिङ्लाई पकाउने जिम्मा दिइएको छ ।
प्रभावित बोलाएर खाना खुवाउने प्रबन्ध गरिएको छ ।
वडा सदस्य आशा श्रेष्ठ रौनियारका अनुसार पौरखी बस्तीका प्रभावित ६ सय जनाका लागि गुह्येश्वरी स्कूलका खानपानको व्यवस्था गरिएको छ ।
शुक्रबारबाट परेको अविरल बर्षाका कारण नदी किनारा हुँदै बस्तीभित्र पानी प्रवेश गरेको थियो ।
यसबाट आइलागेको विपत्तिको सामना गर्न शनिवार बिहानैदेखि महानगर प्रहरी बलका १७ वटा टोली परिचालन भएका थिए ।
यसरी खटिएका नगर प्रहरीले जनप्रतिनिधि, सुरक्षा निकाय र स्थानीयहरुसँगमा खोज र उद्धारको काम गरेका थिए ।
यसका लागि ४ वटा रेस्क्यु बोट (डुङ्गा) को प्रयोग गरिएको थियो ।
काठमाडौँ जिल्लाका विभिन्न ठाउँमा बाढीमा फसेका १ हजार १६० जनालाई उद्धार गरिएको थियो ।
खोलाले बगाएर तथा पहिरोमा परेर मृत्यु भएका ११ जनाको शव निकालिएको थियो ।
७४ वटा पशु चौपाया क्षति भयो । १ हजार ३४० वटा घर डुवान भए ।
यसमध्ये काठमाडौँ महानगरपालिकाको शंखमुलमा, बाढी विपदमा फसेका ५ जनालाई, बल्खु कालीमाटीबाट ७११ जनालाई कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गेट अगाडिबाट १५१ जनालाई, वडा नं. १ नक्साल क्षेत्रबाट ११० जनालाई, कोटेश्वर बालकुमारी झोलुङ्गे पुल क्षेत्रबाट २८ जनालाई उद्धार गरिएको थियो ।
वडा नं. २४ मखन गल्लीमा पुरानो घर भत्किएर अवरुद्ध भएको सडकलाई महानगर प्रहरी बलले अवरोध हटाएर सडक सुचारु गरेको थियो ।
भित्री सहरी क्षेत्रमा पनि पानीको निकास बन्द भएर घर पसल, कवल डुवान भएको थियो ।
बागमती, विष्णुमती, रुद्रमती, मनोहरा, सामाखुखी खोला, करखुशी खोला, बल्खु खोला, भचाखुशी नदी महानगरपालिकाभित्रका नदीहरु हुन् ।
अविरल बर्षाका कारण नदीसँगै खोल्साहरुमा पनि पानीको तीब्र बहाव आएको थियो ।
काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपद परेमा सहयोगका लागि हटलाइन नम्बरहरु १६६००१०५५११, ११८० र महानगर प्रहरी बलको हटलाइन नम्बर ९८५१३५६५०९ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।